बबई नदिको झोलुङ्गे पुलमा फस्यो गोरु
असार ३०
दाङ -दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि जेन्तेन उद्दार गरिएको छ।
शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो ।
खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो ।
बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतका सामग्री प्रयोग गरिएको थियो ।
अघिल्लो साता शुक्रबारदेखि पानी परेर बबईमा आएको बाढीले पुलमा क्षति पुर्याएको थियो । पुलका केही लठ्ठाहरू बगेका थिए । दक्षिण रामपुरतर्फको पिलरमा क्षति हुँदा पुल कोल्टिएको समेत छ ।
सम्भावित दुर्घटनाको जोखिम मध्यनजर गर्दै पुलको प्रवेशद्वारमा सामान्य डोरी बाँधेर बन्द गरिएको थियो । तर केही युवायुवतीले प्रवेशद्वारमा बाँधिएको डोरी फालिदिएका थिए ।