रुकुम चौरजहारी

दशै आउँदा बर्षमा एक पटक बल्ल तल्ल कपडा सिलाउने गरिन्थ्यो

असोज २३

रुकुम आठ विसकोट

काठमान्डौ – बाल्यकालमा दशैं आउनु अघिं बुल्माबाट डोकोमा रातोमाटो बोकेर ल्याउँथे अनि दही तह मही लिएर जान्थे । हामी कमेरेपानी गएर कमेरो बोकेर ल्याउँथ्यौं ।

रातोमाटो तथा कमेरोले घर छ्याप्ने, काठका कौसी, क्याम्पा, थाम, झ्याल, ढोका आदिमा रंग लगाउने, घरवरिपरी सफा गर्ने, हाक हालेपछि बाटो खन्न जाने / सिंढी मर्मत गर्ने आदि गरिन्थ्यो । सिरकका खोल, तन्ना लगायत ठूला कपडा खरानी पानीमा पकाएर तथा लठ्ठीले ठटाएर धुने चलन थियो ।

बर्षमा एकपटक नयाँ कपडा सिलाउने प्रचलन थियो । काँचो कपडा किनेर कहिले सिलाउनेलाई घरमा बोलाउँथ्यौं भने कहिले उनको घरमा कपडा लिएर जाने गर्थ्यौं ।

सिलाएका कपडामा चकको लाइन हुन्थ्यो, नाप गर्दा । कपडाबाट मीठो वासना आउंथ्यो । नयाँ कमिज र पाइन्ट लगाउँदा मन फुरुंग हुन्थ्यो । नयाँ कपडा हेर्दै, बासनाको आनन्द लिंदै दशैंको तयारी गर्थ्यौं ।

अचारको लागि बारीमा पाकेका पहेंला काँक्रा हुन्थे । गाउँमा सधै मासु हुँदैनथ्यो । कहाँ बोका / खसी काटेका छन्, बुझेर हामी भाग किन्न जान्थ्यौं । मासु काट्ने घरमा आन्द्रा, भुँडी, रगत, कलेजो, फोक्सो मिलाएर भुटेको पिरो मासु त्यहाँ भएका सबैले खाने चलन थियो । बाबुआमा भएकाले गिदी खानु हुँदैन भनेर प्रौढहरुले ताजा गिदी खाने गर्दथे । कतै कतै हाम्रो हातमा पनि पर्थ्यो ।
त्यो बेला बाहिर जाने भनेको भारत थियो । भारतमा काम गर्न जानेलाई लाहुरे भनिन्थ्यो । लाहुरेहरु दशैं अगाडि ठूलो बाकस बोकेर तथा हातमा रेडियो बजाउँदै घर फर्किन्थे । लाहुरे आफन्त आएपछि हामीहरु लाहुरका कुरा सुन्न जान्थ्यौं । उनीहरुले लाहुरका कुरा बढाइचढाई गर्दथे । नयाँ तथा अत्तर छर्केका कपडा लगाउँथे । नजिकका आफन्तले केहि उपहार पनि ल्याउँथे ।
मनमा लाग्थ्यो, म पनि यस्तै लाहुरे हुन पाए त ! दशैंपछि घरबाट भागेर लाहुरेसँग जाने चलन थियो । ५-६ कक्षामा पढ्दा एकपटक म पनि भागेर लाहुर जान कंसिएको थिएँ । अन्तिम समयमा हिम्मत आएन । केहि साथीहरु लाहुर गए ।

घरबाहिर जागिर खाने तथा पढ्ने पनि दशैंमा घर आउंथे । हामीहरु उनीहरुका कुरा सुन्न चिया पसलमा जाने गर्दथ्यौं । उनीहरुले फाट्टफुट्ट राजनीतिका कुरा गर्दथे । दशैको पूर्व सन्ध्या निकै रमाइलो हुन्थ्यो । डा. रविन्द्र समीर