Gold

हिन्दीमा बोलेको विरोधमा राजपा-फोरमका सांसद्को‍ पुतला दहन ,,

Naumule Migrate

रंग दर्पण २३ माघ -जनकपुरधामः प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छाडेर हिन्दीमा भाषण गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुतला दहन गरेका छन् ।

मङ्गलवार जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको अगुवाईमा सङ्घीय समाजवादी फोरम र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुतला दहन गरिएको हो ।

संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुतला दहन गरिएको युवाहरूले बताएका छन् ।

युवाहरूले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्टिय भाषाको सम्मान गर’ भन्ने नारा समेत लगाएका थिए । पुतला दहनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनाव भएको थियो ।

मातृभाषालाई भुलेर हिन्दीलाई प्राथमिकता दिएपछि आफ्नो भाषा संरक्षणको लागि विरोध गर्न बाध्य भएको अभियानका संयोजक सुशील कर्णले बताए ।

‘प्रदेश नम्बर दुईमा मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषालाई प्राथमिकता दिनु पर्दछ’, उनले भने, ‘यी भाषाहरूलाई नै सरकारी कामकाजी भाषा बनाउनुपर्छ ।’

प्रदेशसभाको पहिलो बैठकमा फोरमका तर्फबाट शुभकामना मन्तव्य राखेका मोहम्मद लालबाबु राउत, राजपाका जितेन्द्र सोनलले हिन्दी भाषाको प्रयोग गरेका थिए । त्यसै गरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूले मैथिली भाषामा मन्तव्य दिएका थिए ।

Naumule Badhipahiro