शनिबार रौतहट डुंगा दुर्घटनामा २१ जनाको उद्दार ५ जना अझै वेपत्ता ,,

भदौ,१० रौतहट – रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ भने अझै ५ जना हराइरहेका छन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो ।

डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ । अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।