Simta
Simta

एक पटक पढ्नै पर्ने लेख ,,एक थान नागरिकता”

सबेरै एक थान नागरिकता बोकेर
मनको उकुसमुकुसलाई
आफै भित्र गुम्साउँदै
निस्कन्छ ऊ लखर लखर..
काठमाडौका गल्ली चाहर्दै
कहिल्यै नदेखेको सिंहदरबार छिरी
आफूलाई नेपाली प्रमाणित गर्न
र राज्यको नागरिक दावी गर्न ।

चोक चोकमा अनेकन दृष्य देख्छ
कोहि सानो माइकको आवाजमा
सहयोगका लागि हात फैलाउदै थिए
पर्खालको भित्तामा एउटा युवकको फोटो
वडा अध्यक्षको सिफारिस प्रमाणपत्र
दुबै मृगौला फेल भएको घोषणा
एक थान नागरिकता बोकेका
नेपाली नागरिक।

दुबै आँखाको दृष्य गुमाएका एक जोडी
जिविकोपार्जनको लागि हारगुहार गर्दै थिए
खरी झरेको मादल ठोक्दै
लोक गीतको भाकामा
छेवैमा कचौरा केही चिल्लरहरु ।
एक थान नागरिकता बोकेका
नेपाली नागरिक।

अलिक पर्तिर
लस्करै २/३ जना भविष्य बेत्ता
खरानीको चन्दन पोतिएका अनुहार
दसौं वर्ष देखि सडक पेटि कब्जा जमाएका
छुट छ यिनीहरुलाई
कसैले रोकतोक गर्दैन
भारतबाट आयातित छद्मभेषीहरु
नेपालीहरूको भाग्यको छिनोफानो गर्दै
रत्नपार्कको छेउछाउमा
एक थान नेपाली नागरिकता पर्खेका
छिमेकी नागरिक।

बगलमा
कागती, खुर्सानी, अदुवा र गुन्द्रुकको
स-सानो बिलो लगाएर
भन्दै थिइन एउटी बुढी आम्मै
रु१०.. रु १०… दसको एक विलो
यतिकैमा एक हुल नगर सुरक्षाकर्मी
जबर्जस्ति उठाउँछ जिनिस गाडिमा हाल्छ
बुढी आमै रुदै हारगुहार गर्छिन
सुन्दैनन बहिरा सुरक्षाकर्मिहरु
असुरक्षित महसुस गर्छिन
साझको चुल्हो सम्झिन्छिन
एक थान नागरिकता बोकेकी
नेपाली नागरिक आमै ।

Simta

कतै दिन दहाडै नागरिकता लुटिन्छ कि!
दिदी-बहिनीहरुको अस्मिता लुटिए झैँ
तर्सिन्छ ऊ र सजक बन्न खोज्छ
त्यसैले ऊ बेला बेलामा गोजि छाम्दै हिड्छ ।
असन गल्ली हुँदै विशालबजार पुग्छ
पत्रीका टाँसिएको सुचना पाटी
एकैछिन टहलिन्छ
भँगेरे टाउके अक्षरमा समाचार….
‘निमोनियाको शंकामा’ उपचारको लागि
आजै सिङ्गापुर प्रस्थान
एक थान नागरिकतासँगै
रातो पासपोर्ट बोकेका
नेपाली शिर्ष नेता ।

गोजीबाट नागरिकता झिक्छ
घोरिएर हेर्छ आफ्नै फोटो
अनि सम्झने कोसिस गर्छ
चोक चोकमा भेटिएका अनुहारहरु
दुबै किड्नी फेल भएर
बाच्ने जिजिविषामा मृत्यु पर्खिरहेको
रामेछापको एक लक्का जबानको फोटो,
दुबै आँखाको ज्योती गुमाएका
युगल जोडिको दृश्य,
अदुवा खुर्सानी.. बेच्न बसेकी
बुढी आमैको अनुहार,

अनि निर्धक्क सडक पेटि कब्जा जमाएका
भविष्यबेत्ता छिमेकी भैयाहरुको सान
र पुनः सुचना पाटीतर्फ
आँखा लगाउछ घोरिएर हेर्छ तस्विर
निमोनियाको शंकामा
उपचारको लागि सिङ्गापुर प्रस्थान गरेका
लोकतन्त्रका शिर्ष नेताको ।

के सोच्यो कुन्नी!
एकाएक सहिद गेट हुँदै अगाडि बढछ
उसका पाइलाहरु हतारमा थिए
गन्तव्य स्थल सिंहदरबार तिर नलागि
भद्रकालिबाट दायाँ हान्निदै
माइतीघर मण्डला पुग्छ
प्लेकार्ड बोकेका फरक फरक अनुहारहरु
निर्मला पन्त र सन्नी खुनाको तस्विर रहेको ब्यानर
आवाज बुलन्द गर्दै थिए
निषेधित क्षेत्र तोड्दै…
नागरिक सुरक्षाको ग्यारेन्टी गर
बलत्कारीलाई फाँसी दे
हत्यारालाई फाँसी दे!
फलानो सरकार मुर्दावाद!
जिन्दाबाद… मुर्दाबाद..
नाराहरु घन्किएका थिए।

जुलुसलाई नियाल्छ एकछिन
सोच्छ… एकछिन घोत्लिन्छ
चोक चोकमा भेटिएका
दृश्यलाई दसी प्रमाण मान्दै
सहिद गेटका शालिकलाई
किनाराका साक्षी राख्दै
नागरिकता बोक्दैमा
राज्यले नागरिक नमानेको प्रमाणित गर्छ आँफैले ।
शान्त हुँदै मनलाई सम्हाल्छ
गोजीबाट नागरिकता झिक्छ
आफ्नो फोटो उक्काउछ
एक पटक फोटोलाई घोरिएर हेर्छ र गोजीमा राख्छ
फोटो नभएको एकथान नागरिकता
फ्याकि दिन्छ त्यही भिडमा
घर सम्झिदै.. जुलुसमा सामेल हुन्छ
लाखौं निर्मला र सन्निहरुको
सुरक्षाको खाँतिर ।।
———-****———
खेम आचार्य
काठमाडौं