बिमस्टेक शिखर सम्मेलन भोलिदेखि सुरु १६ वटा एजेण्डा प्रस्तुत गरिने ,,

भाद्र १३, काठमाडौं- आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने भएको छ । विमस्टेक शिखर सम्मेलनको एजेण्डाका विषयमा छलफल गर्न मंगलबार काठमाडौंमा बसेको परराष्ट्र सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

बैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय गरिएको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । बैठकले सम्मेलनपछि घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।

भोलि देखि काठमाडौंमा विमस्टेकको शिखर सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा सहभागी हुन मंगलबारनै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम सुरु भएको छ । सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आउने क्रम सुरु भएपछि सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । भोलि एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी ओलीले शिखर सम्मेलनको उद्घाटन गर्नेछन् ।