पत्रकारलाई पत्र काट्ने एसएसपीलाई काउन्सिलले बोलायो

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रवीन्द्र धानुलाई आफ्नो कार्यालय बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न सुझाव दिएका छन् ।
अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनहरुसँग पत्र नकाट्न प्रेस काउन्सिलले प्रहरी उपरिक्षक धानुलाई भनेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । साथै पत्रकारमाथि कुनै पनि जा
नकारी लिनु परेमा प्रेस काउन्सिलमार्फत गर्न काउन्सिलले उपरिक्षक धानुकलाई भनेको श्रेष्ठले जानकारी दिए ।

सुशासन अनलाइन लगायतका अनलाइनहरुमा नवराज सिलवालका विषयमा छापिएको समाचारबारे प्रहरीले पत्र काटेपछि प्रेस काउन्सिलले सोमबार काठमाडौं प्रहरी प्रमुख धानुलाई बोलाएर यस विषयमा छलफल गरेको हो ।
सोमबार प्रेस काउन्सिलको आयोजनामा भएको छलफलमा एसएसपी धानुकका साथमा अनुसन्धान अधिकृत डीएसपी बेलबहादुर पाण्डेसमेत उपस्थित भएका थिए ।
त्यस्तै, विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै लेखिएको पत्रमा डीएसपी पाण्डेको हस्ताक्षर गरेका थिए ।

प्रहरी अधिकारीहरुसँगको छलफलमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य लगायतको उपस्थिति थियो ।
त्यस्तै, यस विषयमा पूर्व डीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको छलफलका क्रममा प्रहरी अधिकारीहरुले जवाफ दिए ।
साथै पाटन उच्च अदालतले समेत त्यसरी पत्र काटेर समाचारको स्रोत माग्न सकिने बाटो खोलेको प्रहरी अधिकारीले जिकिर गरेका थिए ।
यसैगरी, प्रहरी अधिकारीले गरेको जिकिरको जवाफमा प्रेस काउन्सिलका पदाधिकारी एवं नेपाल बारका प्रतिनिधिले कुनै पनि हालतमा पत्रकारसँग समाचारको स्रोत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिए छन् ।
‘प्रहरीले यसरी समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुन्छ,’ छलफलपछि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने, ‘प्रहरीको यस्तो कार्य संविधान र प्रेस कानूनको समेत विपरीत हुने भएकाले हामीले प्रहरीलाई यस्तो कार्य नगर्न भन्यौं ।’
त्यस्तै, श्रेष्ठले भने, अबदेखि अनलाइन पत्रकारहरुलाई त्यसरी पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिलमार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएको बताए ।
