जन्मदिन मनाउने निहुमा जंगलमा लगेर बालिकाको सामूहिक बलात्कार,,

असोज २५ ,विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक बालिका गत मंगलबार बलात्कारमा परेकी छिन । उनलाई जंगलमा लगी सामूहिक बलात्कार गरिएको थियो। बलात्कारमा सहयोगी भूमिका खेलेको भन्दै पीडित बालिकाकी एक जना साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे पुलचोक निवासी विपना महरालाई बिहीबार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । विपना र बालात्कृत बालिका एउटै कक्षामा पढ्ने साथी हुन्। विपनाले जन्मदिन मनाउन भन्दै मोटरसाइकलमा दुई युवाको साथमा आफ्नो घरमा लिएर गएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। विपनासँगै मोटरसाइकलमा गएका उनीहरूलाई स्थानीयले देखेका थिए।
१३ वर्षीय बालिका पथरीशनिश्चरे १० स्थित मामाघरबाट मंगलबार दिउँसो हराएकी थिइन्। उनी केही समयदेखि मामाघरमै बस्दै आएकी थिइन्। बलात्कारबाट घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घरबाट बेहोस अवस्थामा उपचारका लागि लगिएकी उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धिृत गर्दै प्रहरीले जनाएको छ।
घटनामा संलग्न पथरीशनिश्चरे,१ का २३ बर्से मनोज राई र पथरीशनिश्चरे,९ का २२ बर्से राजकुमार माझीलाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। प्रहरीले दुवै जनामाथि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउन बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ।


‘घरबाट बोलाएर जंगलमा पुर्याएपछि बलात्कार गरेको खुलेको छ’, बजगाईंले भने, ‘बलात्कार गर्नुअघि घरेलु मदिरा पनि सेवन गराएको पुष्टि भयो।’ उनका अनुसार मदिरा खुवाई लट्याएर आफूमाथि बलात्कार गरेको जानकारी बालिकाले गराएकी छन्।
परिवारका सदस्यले साथी आएर बोलाएपछि एक घण्टाका लागि जान दिए पनि बालिका भोलिपल्ट (बुधबार दिउँसो) मात्रै घर आइपुगेको बताएका छन्। रातभर जंगलमा लगेर बलात्कार गरेपछि भोलिपल्टै ती युवाले बालिकालाई घर नजिकै छाडिदिएका प्रहरीले जनाएको छ। परिवारका सदस्यले सोधीखोजी गर्ने क्रममा मात्र बालिकाले आफू बलात्कृत भएको कुरा खोलेकी थिइन्।
स्थानीयका अनुसार बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर छ। आमाले दोस्रो विवाह गरेर गएको र बुवाले ज्याला मजदुरी गर्दै आएका कारण बालिका मामा घरमा बसेर पढ्दै आएकी थिइन्। उनी स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन्।साथीको जन्मदिन मनाउन हिँडेकी बालिका नफर्किएपछि परिवारका सदस्यले रातभर खोजी गरेका थिए। विपनाको घरमा खोज्न जाँदा दुई जना केटासँग गएको कुरा खुलेको र त्यसपछि राजकुमारको घरमा जाँदा उल्टै गालीगलौज गरेर पठाएको स्थानीय उर्मिला नेपालीले बताइन्।
बालिका हराएको जानकारी गराउँदा प्रहरीले खोजीका लागि चासो नदिएको आफन्तको गुनासो छ। पछि बलात्कृत भएको कुरा जानकारी गराउँदा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नमानेको उनीहरूले बताए। घटनाबारे वास्ता नगरेपछि स्थानीयको दबाबमा मात्रै प्रहरीले दुई जनालाई पक्राउ गरेको नेपालीले बताइन्।
