हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता ,,
असोज,२७ म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका ८ जनाको मृत्यु भएको छ । भने एकजना वेपत्ता छन् ।काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बुढामगरले जानकारी दिएका छन् । मौसम खराब भएकाले हेलिकोप्टर बस्न नसकेर फर्किएको छ ।‘आज बिहान पोखराबाट गएको टोलीबाट ८ जना मान्छेको शव देख्यौं भनेर रिपोर्ट आएको छ,’ डिएसपी बुढामगरले भने।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको छ,’ डिएसपी बुढामगरले भने ।