दु:खिलाई कहिले सुख हुनसकेन भूकम्पपीडितको टहरोमा आगलागी, दुईको मृत्यु ,

कार्तिक ९ ,जिरी- दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका,९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए ।

 

आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ ।करीब बिहान २ बजे लागेको आगो साढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । परिवारका सात सदस्य मध्ये तीन जना मात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा टाढा गोठमा बस्दै आएकाले उनीहरु भने बाँच्न सफल भएका छन् ।