यस कारण भए गुगलका ४८ कर्मचारी बर्खास्त ,,
कार्तिक ९ ,काठमाडौं – गुगलले अनुचित व्यवहारमा संलग्न भएको भन्दै ४८ कर्मचारीलाई बर्खास्त गरेको छ। विगत दुई वर्षमा यौन दुर्व्यवहारको आरोप लागेका १३ वरिष्ठ व्यवस्थापकसहित ४८ कर्मचारीलाई बर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। गुगलका प्रमुख सुन्दर पिचाईले अनुचित व्यवहारविरुद्ध कम्पनीले कडा नीति लिएको बताएका छन्। यसअघि गुगलले आफ्ना कर्मचारीको अनुचित व्यवहारलाई ढाकछोप गर्दै आएको आरोप लागेको थियो। यद्यपी प्रमुख पिचाईले भने कम्पनीले अनुचित कार्यविरुद्ध कडा नीति लिएको पत्र सबै कर्मचारीलाई पठाएका छन्।
न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको एउटा रिपोर्टमा एन्ड्रोइड सफ्टवेयरका निर्माता एन्डी रुबीनलाई कम्पनीले बचाउ गरेको खुलासा गरेको छ। रुबीनमाथि दुर्व्यवहारको आरोप लागेपनि गुगलले ९ करोड बराबरको प्याकेज दिएको खुलासा रिपोर्टले गरेको छ।रिपोर्टमा दुई दशकको अवधिमा गुगलले रुबीनसहित अन्य दुई व्यवस्थापकविरुद्ध लागेको यौन दुर्व्यवहारको आरोपलाई ढाकछोप गरेको उल्लेख छ। उता रुबीनका सहयोगीले भने यो आरोपको खण्डन गरेका छन्।
गुगलका प्रमुख पिचाइले टाइम्समा प्रकाशित रिपोर्टले कार्यालय सुरक्षित नभएको आभास भएपछि सबैलाई पत्र पठाउनु परेको विषय उल्लेख गरेका छन्। रिपोर्ट सार्वजनिक भएपछि कम्पनी गम्भीर भएको पिचाइको भनाइ छ।