सन्देशमुलक फिल्म “प्याडम्यान “
रंग दर्पण २८ माघ = बलिउडका ‘खिलाडी ब्वाई’ अक्षय कुमार वास्तवमै खेलाडी निस्किए । चाहे एक्सनमा होस् वा रोमान्समा या त कमेडीमा उनी जताततै फिट छन् । पछिल्लो समय उनले ग्रामिण समाजका सानोतिनो विषयलाई तोडिलो ढंगले पेश गरिरहेका छन् ।
सानो बजेट, थोरै पात्र, सामान्य कथामा पनि जोडदार देखिएका छन्, खेलाडी ब्वाई । अघिल्लो पटक उनको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ले राम्रो व्यापार गर्यो । तारिफ पनि उत्तिकै बटुल्यो । अहिले ‘प्याडम्यान’ले उस्तै तहल्का पिटिरहेको छ ।
‘प्याडमेन’ खासमा सेनिटरी नेपकिन अर्थात प्याडको सन्दर्भमा बुनिएको कथा हो । मासिक श्रावको बेला महिलाहरुले प्रयोग गर्ने प्याडको कोणबाट सामाजिक परिस्थिती र व्यवहारलाई उधिनेको छ । तामिलनाडूका एक सामाजिक उद्यमी अरुणाचलम मुरुगनाथमको जीवनमा आधारित रहेको फिल्म भएपनि यसमा एकसरो जीवनगाथा मात्र छैन । फिल्ममा अरुपनि चटनी छन्, जसले जिब्रो रसाइरहन्छ ।
भारत मध्यप्रदेशको एक गाउँ । वेल्डर लक्ष्मीकान्त चौहान -अक्षय कुमार) र गायत्री -राधिका आप्टे) दुबैको बिहे हुन्छ । बिहे पछि गायत्रीको महिनावरी सुरु हुन्छ, त्यहीकारण उनलाई घरबाहिर राखिन्छ ।
लक्ष्मीले थाहा पाउँछ, गायत्रीले महिनावरीमा फोहोर कपडा प्रयोग गरिरहेकी छिन् । महिनावरीमा यस्तै फोहोर र असजिलो बस्तु प्रयोग गर्न वाध्य छन् भन्ने कुरा पनि उनले बुझ्छन् । यही निहुँमा महिलाहरुको योनीमा संक्रमण हुने । रोग लाग्ने । मृत्यु समेत हुनसक्छ ।
उनी आफ्नो पत्नीलाई त्यस्तो खतराबाट जोगाउन चाहन्छन् । त्यही कारण प्याड खरिद गरेर ल्याउँछन् । तर, प्याडको मूल्य ५५ रुपैयाँ -भारु) पर्छ । यत्तिका महंगो प्याड लगाउन आनाकानी गर्छिन्, गायत्री ।
एकछिन प्रयोग गरेर मिल्काउने प्याड एकातिर महंगो छ, अर्कोतिर शारीरिक संवेदनसिलताको हिसाबले प्रयोग गर्नैपर्ने पनि हुन्छ । यसको मध्यमार्गी विकल्प के हुन सक्छ त ?
आखिरमा लक्ष्मी आफै प्याड बनाउने चक्करमा लाग्छन् । तर, कसैले नगरेको यस्तो काम गर्न हौसिएका लक्ष्मी गाउँलेका अगाडि ‘पागल’ जस्तै देखिन्छन् । गाउँले उनको बिरुद्धमा लाग्छ । घर परिवार पनि । पत्नीले समेत उनको साथ छाड्छन् ।
सामाजिक प्रतिष्ठामा पुगेको आँच जोगाउन र पत्नीको स्वास्थ्य-रक्षाका लागि लक्ष्मी प्याड बनाउन कटिबद्ध हुन्छन् । यस क्रममा उनलाई बरी (सोनम कपुर)को साथ मिल्छ । अब लक्ष्मीले प्याड बनाउँछ बनाउँदैन ? उनी आफ्नो कर्ममा सफल हुन्छन् ? यसबीचमा उनले के कस्ता उतारचढाव भोग्नुपर्छ ? सबै बेलिबिस्तार लगाउँदै फिल्म टुंगिन्छ ।
फिल्ममा अक्षयकुमार, राधिका आप्टे र सोनम कपुर मूख्य भूमिकामा छन् । उनीहरुबाहेक कुनै पात्रमा फिल्म केन्दि्रत छैन । सर्ट मुभी हुँदै केहि फिल्ममा काम गरिसकेकी राधिका अप्टेले गायत्रीको भूमिकामा आफुलाई अब्बल सावित गरेकी छिन् । मध्यन्तरपछि सोनमको इन्ट्रि हुन्छ । सोनम यसमा थप माझिएर आएकी छिन् । अक्षय कुमार त फिल्मका केन्दि्रय पात्र भइहाले, जसलाई उनले कुनै हिसाबले कमजोर बनाएका छैनन् ।
‘की एन्ड का’, ‘चीनी कम, ‘शमिताभ’, ‘पा’ जस्ता नितान्त भिन्नै ढर्राका फिल्म बनाउने निर्देशक आर बाल्कीको फिल्म हो यो । उनले ‘प्याडम्यान’लाई अघिल्ला फिल्महरु जत्तिकै दमदार बनाएका छन् । निर्देशकिय कोणबाट फिल्म उत्कृष्ट छ । सिनेम्याटोग्राफी दमदार छ । फिल्मको अर्को बलियो पक्ष संवाद हो । अमित त्रिवेदीको संगीतले फिल्ममा चटनीको काम गर्छ । तिख्खर र स्वादिलो ।
मनोरञ्जनसँगै फिल्म सन्देशमुलक छ । यसले प्रेरणादायी कथा बोकेको छ । यति हुँदाहुँदै पनि फिल्म समग्रमा बलियो छैन । केहि कुरामा फिल्म चिप्लिएको छ । प्याडम्यानको कथा केहि तन्किएको र भद्दा जस्तो लाग्न सक्छ ।