नेपालले गर्यो विश्व बैंक संग १५ करोड अमेरिकी डलर सम्झौता ,,

कार्तिक २९ काठमाडौं – सरकारले विश्व बैंकसँग १५ करोड ५७ लाख अमेरिकी डलरको सम्झौता गरेको छ। पुल निर्माण र खाद्य तथा पोषण परियोजना सञ्चालन गर्न सरकारले यस्तो सम्झौता अगाडी बढायको हो। यससम्बन्धी दुईवटा सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविग साफरको उपस्थितिमा अर्थसचिव राजन खनाल र विश्व बैंकका राष्ट्रिय निर्देशक चिमिआओ फानले सम्झौतामा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले यो सहयोगबाट हजारौं नेपालीको जनजीविकामा सुधार, सम्पर्क सञ्जाल विस्तार र व्यापारका लागि मार्ग प्रशस्त गर्ने बताए। सहयोगमध्ये १३ करोड ३० लाख डलर रणनीतिक सडक सञ्जाल सुधारमा प्रयोग गरिनेछ। अहिले देशभित्र १२ हजार एक सय ४२ किमि रणनीतिक सडक सञ्जाल छ।

यस्तै, दोस्रो परियोजना भने अनुदान सहयोगमा सञ्चालन हुन लागेको हो, यस अन्तर्गत विश्व बैंकको दुई करोड २७ लाख अमेरिकी डलर सहयोग परिचालन हुनेछ।यो सहयोगले संघीय प्रणालीमा सरकारले कृषि प्रसार सेवा प्रवाह गर्ने क्षमता विकासमा मद्दत गर्नेछ।यसले न्यून आय भएका ग्रामीण जनसंख्यामा आयआर्जनको अवसर सिर्जना गर्नेछ।