भाइटीकाकै दिन दिदीको हत्या गरि भागेका भाई पक्राउ ,,

मंसिर १ भोजपुर – कार्तिक २३ गते भाई टिकाको दिन आफ्नै दिदिलाई काठको फल्याक प्रहार गरी हत्या गरेका भाई आज पक्राउ परेका छन् । भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासीखोराका ४५ वर्षीय सुमन राईले आफ्नै दिदी ४७ वर्षीया सरिता राईको हत्या गरेको खुलेको थियो। भाइटीकाकै दिन साँझ करिब पौने ६ बजेतिर आन्तरिक विवाद बढेपछि सुमनले दिदी सरिताको टाउकोमा फल्याकले प्रहार गरी हत्या गरेको प्रहरीसँगको वयानमा स्वीकार गरेका छन्।

गाउँमै अन्य दिदी यशोदा र रुपाको हातबाट भाइ टीका लगाई दिउँसो गाउँमा रमाइलो गर्न गएका सुमन घर आउन ढिला गरेको भन्दै दिदी सरिताले गाली गरेपछि रिसाएका थिए।दिदीले गाली गरेपछि आक्रोशमा सुमनले फल्याकले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए।

घटनाको अनुसन्धानपश्चात ६ दिनपछि बिहीबार आरोपित राईलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। सरिताको टाउकोमा क्षतविक्षत हुने गरि चोट लागेपछि घटनास्थलमै ज्यान गयको थियो । राईलाई सात दिनको म्याद थपि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी गरेको छ ।