suekhet
bheriad

पानि बिनाको दमकल पुग्यो आगो निभाउन ,,

lekabesi

मंसिर ६ ,प्युठान – प्युठान नगरपालिका, ७ विजुवार पूण्यखोला निवासी प्रदीप केसीको कुटानीपिसानी र सिरक डसना उद्योगमा आगलागी भयो । विद्युत् सर्ट भएर जानका कुटानीपिसानी र सुप्रिया सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दुवै उद्योग एकै ठाउँमा सञ्चालनमा थिए ।आगलागी भए लगत्तै पीडितले प्युठान नगरपालिका कार्यालयमा खबर गरे,‘दमकल पठाइदिनु प¥यो ।’ पीडित केसीका अनुसार घटनास्थलमा करिब एक घण्टापछि दमकल पुग्यो । तर, त्यो बेलासम्म सबै नष्ट भइसकेको थियो ।

 

आधा पानी बोकेर बिग्रिएको दमकल घटनास्थलमा पुगे पछि आगो नियन्त्रण हुन सकेन । प्युठान नगरपालिकामा दुई दमकल छन् । नगरपालिकाले आफैँ खरिद गरेको दमकल बिग्रिएर मर्मतका लागि बुटवल लगिएको छ । भारत सरकारमार्फत प्राप्त दमकल चार वर्ष पहिले नै बिग्रेर थन्किएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए ।

‘सशस्त्र पहरी क्याम्पभित्र बिग्रिएको दमकल राखेका थियौँ’, कक्षपतीले भने,‘नजिकै आगलागी भएपछि जिपको ड्राइभर बोलाएर त्यही दमकल लग्यौँ । तर, काम गर्न सकेन ।’ उनका अनुसार बिग्रिएको दमकलले पानी फाल्न सक्दैन । आगलागीस्थलबाट दमकल राखिएको सशस्त्र क्याम्प बढीमा दस मिनेटको दुरीमा पर्छ ।

बाटो छेउमै उद्योग सञ्चालन भए पनि आगलागी नियन्त्रण गर्न नसकिएको पीडितले गुनासो गरे । दिउँसो आउने जाने विद्युत्को समस्याले सर्ट भएर आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मिल सञ्चालन नभएकै बेला घटना भएको पीडित केसीको भनाई छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार आगलागीबाट अनुमानित २७ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

यकिन तथ्याङ्क शुक्रवार बिहानसम्म आउने उनले बताए । गाडी पुग्ने स्थानमासमेत विपदको बेलामा स्थानीय सरकारले पूर्व तयारी नगरेको स्थानीयको आक्रोश छ । उद्योगमा कुटानीपिसानीका लागि थुप्रै व्यक्तिले अन्न राखेको केसीले बताए ।