तबला संगीतज्ञ जाकिर हुसेनको प्रस्तुतिमा प्रधानन्यायाधीशदेखि मन्त्रीसम्म ,,
मङ्सिर १२ ,काठमाडौं – विश्व विख्यात तबला संगीतज्ञ जाकिर हुसेनको सांगितिक कार्यक्रमका लागि काठमाडौंमा आयका छन् । पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम मंगलबार साँझ नेपालस्थित भारतीय दूतावास परिसरमा आयोजना गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र थिए । उनी श्रीमतीसहित कार्यक्रममा सहभागी भएका थिए ।
यसैगरी मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, सभामुख कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, नेता अर्जुननरसिंह केसी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर जबरा, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।
राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, सञ्चारकर्मी, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न एक हजारभन्दा बढी व्यक्तिहरुले सो कार्यक्रमको आनन्द लिएका थिए । आधुनिक तथा शास्त्रीय तबला बादनमार्फत जाकिर हुसेनले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।भारत-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई कायम राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तरालपछि आयोजना गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो कार्यक्रममा सूर्य नेपाल, नेपाल एसबीआई बैंक, जेट एयरवेज तथा र्याडिसन होटलले सहकार्य गरेका थिए ।कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।