आदित्यनाथको जनकपुर भ्रमण, पूजाआजासँगै राजनीतिक भेटवार्ता ,,
मंसिर, २६ जनकपुरधाम – अयोध्याबाट ‘जन्ती’ रूपमा जनकपुरधाम आएका उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजाआजाका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
रामजानकी विवाह महोत्सवमा जन्ती (बाराती) भनिएका मुख्यमन्त्री योगी भिटी यूपीरे कलसाइनको निजी विमानबाट जनकपुर विमानस्थल ओर्लिएका थिए । उनलाई सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभाका सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले स्वागत गरेका छन् ।
त्उयहाँबाट उनी सिधै जानकी मन्दिरमा पुगे । मन्दिरमा उनलाई पर्यटनमन्त्री अधिकारी, कांग्रेस उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले स्वागत गरेका थिए । उनले त्यहाँ जानकी मन्दिरमा पूजाअर्चना गरे ।
आदित्यनाथले बाह्रविघा रंगभूमि मैदानमा जनकपुरवासीलाई सम्बोधन गरे । नेपाली भाषामा सम्बोधनको सुरुवात गरेका योगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ र शुभकामना बोकेर जनकपुर आएको बताए ।
मिथिलाको पवित्र भूमि जनकपुर आउँदा गौरव महसुस भएको भन्दै योगीले सम्पूर्ण भारतवासीको दूत बनेर आएको पनि उल्लेख गरे । प्राचीन समयमा विश्व अन्धकार रहेको बेला जनकपुर ज्ञानको भूमिको रुपमा परिचित रहेको भन्दै भगवान बुद्ध र महावीरले समेत शास्वत सत्यको खोजी गर्दै जनकपुर आएको उनले बताए ।
जनकपुर र अयोध्याको दुरी कम गर्न चार लेनको राम-जानकी मार्ग निर्माण गरिने र यसले दुई धार्मिक स्थलको यात्रा चार घण्टामा तय गर्न सकिने उल्लेख गरे । जनकपुरधामको आफ्नो यात्रा दुई मुलुकबीचको जनताको भावना अनुसार स्थायी मैत्रीपूर्ण सम्बन्धलाई चित्रण गरेको उनको भनाइ थियो । जनकपुरमा आउँदा आफूलाई घरमै बसेको अनुभूति भएको पनि योगी आदित्यनाथले बताए ।
कार्यक्रममा जनकपुरवासीका तर्फबाट उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई नागरिक अभिनन्दन गरेका थिए ।
योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग पनि शिष्टाचार भेट गरेका छन् । प्रदेश प्रमुखसँग उनको भेटको तस्वीर भारतीय विदेश मन्त्रालयले ट्वीटरमा सार्वजनिक गरेको थियो । भेटमा भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।
आदित्यनाथलाई प्रदेश २ सरकारले पनि सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरे ।
अभिनन्दन कार्यक्रममा संघीय सरकराका पर्यटनमन्त्री अधिकारी, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, सांसद कोमल ओली, प्रदेश २ सरकारका मन्त्रीहरु, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, भारतीय राजदूत मञ्जीव सिंह पुरीलगायत सहभागी थिए ।
योगी आदित्यनाथको सम्मानमा प्रदेश २ सरकारले भण्डारा (दिवा भोज) आयोजना गर्यो । मधेस भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यञ्जनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारीलगायतका परिकार थिए । उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।