प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिस ,,
मंसिर, २७ ,काठमाडौं – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।संवैधानिक परिषदले लामो समयदेखिको कसरत पछि न्यायधिश सिफारिस गर्न सफल भएको हो ।
२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्। संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङफे सहभागी थिए।
संविधानको धारा १२९ उपधारा २ मा ‘संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था छ।