के हो ३३ किलो सुनकाण्ड ?कति छुटछन् जेल बाट कति बस्छन ,
पुस १ , काठमान्डौ – २०७४ माघ ९ गते फ्लाई दुबईको विमानबाट गोरे नेतृत्वको समूहले ल्याएको ३३ किलो सुन विमानस्थलबाट छिराएपछि बाटैबाट हराएको थियो। विमानस्थलबाट निकालेको सुन अर्का व्यक्तिलाई जिम्मा लगाउने काम गोरेले एलबी मगरलाई बुझाएको अनुसन्धानबाट खुलेको छ। एलबी सुन लिन नआएपछि गोरेले त्यो कामको जिम्मा विमानस्थलमै सुन तस्करीको पोल खुलेपछि शंकास्पद दुर्घटनामा मृत्यु भएका सानु बमलाई दिएका थिए।
गोरेले त्यो सुन पुरानो बानेश्वरस्थित आफ्नो कार्यालयसम्म लगेर छाड्ने काम थाई एयरवेजका मेकानिकल हेल्पर सानु बमलाई दिएका थिए। सुन बोकेर गोरेले भनेको स्थानमा जाने क्रममा स्कुटरको पछाडि बसेका सानुले रत्नराज्य स्कुल नजिक पुगेपछि गोरेलाई फोन गरी सुन लुटिएको जानकारी दिएको छानबिनबाट खुलेको थियो।
त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि सुन तस्करीको पोल खुलेको थियो। यो सुन हराएपछि सनम शाक्य र सानु बनसहित तीनजनाको ज्यान गइसकेको छ।
तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले विमानस्थलबाट झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीबाट नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।
जिल्ला सरकारी वकिलको कार्याल मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो मागसहित जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।
सरकारी वकिलको कार्यालयले ६३ जनाविरुद्ध गत वैशाखमै संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीमध्ये ९ जना त प्रहरी अधिकारी नै थिए।
उच्च अदालतबाट छुट्दै ,,
मुद्दा जिल्लाबाट उच्च अदालत पुगेपछि अभियुक्तहरू धमाधम छुट्न थालेका छन्। उच्च अदालत विराटनगरले प्रहरी जवान विष्णुबहादुर खड्कालाई धरौटीमा छाडिसकेको छ। त्यसैगरी अम्बरहादुर थापा, पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजीत केसीलाई साधरण तारेखमा छाडिसकेको छ।उच्च अदालतको आदेशमा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य र अर्का व्यवसायी विमल पोद्दार पनि केही दिनअघि रिहा भइसकेका छन्।
गृहमन्त्रीलाई जानकारी
कोलकातामा ३३ किलो सुनसहित दुईजना नेपाली पक्राउ परेको खबर गृहमन्त्री रामबहादुर थापालाई गराइएको छ। महावाणिज्यदूतावासबाट पत्र नै आएकाले छानबिन समितिले गृहमन्त्री थापालाई यसको शुक्रबारै जानकारी गराएको हो।
सुन दुबईकै
कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले पठाएको विवरण अनुसार बरामद सुन दुबईबाटै भित्रिएको हो। परिमाणसमेत ठ्याक्कै मिलेकाले नेपालबाट हराएको सुन त्यही भएको निचोड छानबिन समितिले निकालेको छ।
‘हाम्रो प्रतिवेदनमा उल्लेखित र कोलकातामा बरामद सुनको परिमाण र नामसमेत मिलेको छ। हलमार्क ‘दुबई गोल्ड’ उल्लेखित सुन बरामद भएको हो’, पौडेलले भने, ‘हाम्रो प्रतिवेदनमा उल्लेखित र बरामद सुनको विवरण ९९.९९ प्रतिशत मिलेको छ, अब नेपालमै ल्याएर हेरेपछि हामी ‘कन्फर्म’ गर्छौं।’
यो सुन व्यवस्थापनका लागि एमके अग्रवाल, सुनील अग्रवाल, सुनसरीतिरकै मोहन काफ्ले ‘मणि’ सहितको भूमिका हुन सक्ने छानबिन समितिको निचोड छ।
को हुन् राकेश र हेम
छानबिन टोलीको प्रतिवेदनमा इटहरीका राकेश शर्मा र हेमराज शर्मालाई सुन व्यापारी भनिएको छ। उनीहरू सुन तस्करीमा संलग्न भइ फरार रहेका मोहन अग्रवाल र सुनिल अग्रवालमध्ये एक व्यापारीका कामदार हुन्।
उनीहरूको ‘कनेक्सन’ सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेदेखि तस्करीको सुन बेच्ने धरानका मोहन अग्रवाल र सुनिल अग्रवालसँग पनि रहेको खुलेको छ।