परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच वार्ता ,,
पुस,४ काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भेटवार्ता भएको छ । वाशिङ्टनडिसीस्थित स्टेट डिपार्टमेन्टमा मंगलबार दिउँसो दुईपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई सन् २०३० भित्र मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यअनुसार नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।
साथै उनले राजनीतिक भ्रमण र अनुभव आदान प्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए । व्यापार, लगानी र आर्थिक सहायताको क्षेत्रमा विशेष ध्यान दिन सकिने मन्त्री ज्ञवालीले बताएका थिए ।
भेटवार्तामा दुई देशबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।