चोलेन्द्रविरुद्ध ९ उजुरी, छलफल गर्न उजुरीकर्ता आउदै ,

पुस,१२ काठमाडौं – प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो ।

प्रधानन्यायाधीशले आजदेखि मुद्दा नहेर्ने

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साताअघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधि प्रधान न्यायाधीश बन्ने मौका मिलेको थियो । उनले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।

अवकाशको मुखमा मुद्दाको फैसला गरेर विवादमा पर्न नचाहेको मिश्र निकट स्रोतले जनाएको छ । उनीमाथि भ्रष्टाचार र राजस्व छली तथा अर्बौं रुपैयाँ कर सम्बन्धी विवादका मुद्दा हतार,हतार फैसला गराउन अग्रसरता लिएको आरोप लागिरहेको छ ।

मिश्रले मुद्दा नहेरे पनि अन्तिम दिनसम्म पेशी तोक्ने र प्रशासनिक काम भने जारी राख्ने भएका छन् । नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस भइसकेका छन् ।