विदेशी नागरिक ७०१ जनालाई गृह मन्त्रालयले गर्यो नेपालबाट निष्कासन अधिकांस कानुन उल्लंघन गर्ने र धर्म परिवर्तनमा संलग्न,

पुस २६ काठमाडौं – नेपालमा बसेर अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो।

उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्।

गृह मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ। उनीहरू धर्म परिवर्तनमा भने संलग्न छैनन्। यो सन २०१८ को तथ्यांक हो।

एक वर्षको अवधिमा अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ, जसमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती थिए।

पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले उनीहरूलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको थियो।

अन्य निस्कासित हुनेहरूमा अधिकांश विदेशी भिसाबिना बसेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र कैद भुक्तान गरेका छन्। सरकारले विदेशीहरूको उपस्थितिलाई निगरानी नगर्दा अवैध रूपमा नेपाल बस्ने विदेशीको संख्या बढ्दै गएको छ।

कुनै पनि विदेशी नेपाल प्रवेश गरेदेखि नफर्किएसम्म उनीहरूका गतिविधि निगरानी गरिनुपर्ने पूर्वगृहसचिव गोविन्द कुसुमले बताए। ‘कुन प्रयोजनका लागि विदेशी नेपाल आएका हुन्, कुन्न स्थानमा जान्छन त्यसको स्पष्ट जानकारी सरकारले लिनुपर्छ’ उनले भने।