राससको ५७ औं स्थापना दिवस ,,
रंग दर्पण ७ फाल्गुन -काठमाडौँ : राष्ट्रिय समाचार समिति रासस ५७ औँ वर्ष प्रवेश गरेको छ । देशकै एक मात्र समाचार संस्थाको रुपमा रहेको राससले समाचार उत्पादन र वितरण गर्र्दै आएको छ।
राससको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राससलाई शुभकामना दिएका छन् । उनले आफूलाई सबैभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउनुपर्नेमा जोड दिएका छन्। शुभकामना सन्देशमा परिवर्तित सन्दर्भमा राससले आफ्नो समाचारीय प्राथमिकता र शैलीमा परिवर्तनका लागि नयाँ प्रविधिको प्रयोग गरेर आफूलाई सबभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउन आग्रह गरिएको छ । उनले यसका लागि सरकारको तर्फबाट सधैँ सकारात्मक सहयोग हुने नै विश्वास पनि दिलाए।
मुलुकमा राणा शासनको अन्त्यपछि प्रजातन्त्र स्थापना भएसँगै प्राप्त सीमित स्वतन्त्रताका बीच देश र जनताका पक्षमा आंशिक रुपमा पत्रकारिता आरम्भ भएको तर निरङ्कुश पञ्चायती व्यवस्थाले जनताको स्वतन्त्रताको हक खोसेका कारण प्रेस स्वतन्त्रता पनि लामो समय कुण्ठित हुनपुगेको उल्लेख गर्दै ओलीले जनताका अधिकार बहाली गर्नका लागि त्यसबेला पनि मिसन पत्रकारिता जारी रहेको स्मरण गरे।
नेपालको राजनीतिक अधिकार प्राप्तिको लडाईंमा यस किसिमको मिसन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।
‘संविधानसभाले संविधान जारी गरेपछि नेपालमा मूलतः राजनीतिक संघर्षको युग सकिएको छ । त्यसमा पनि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आधारभूत रुपमा राजनीतिक संक्रमणकाल पनि सकिएको छ,’ सन्देशमा भनिएको छ ।