Gold
Bangad salyan

सर्वोच्चले अख्तियारलाई भन्यो नेपाल र भट्टराईलाई मुद्दा नलगाउनु कारण दिनुहोस ,

फागुन २ ,काठमान्डौ – ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अख्तियारलाई महान्यायधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दाएर गर्दा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार रिट दायर गरेका थिए ।

इजलासले रिट निवेदनको प्रतिलिपि राखेर विपक्षीको नाममा सूचना म्याद जारी गर्न आदेश दिएको छ।

इजलासले रिट निवेदनको विषयबस्तु हेर्दा चाँडो किनारा लगाउनु गर्ने प्रकृतिको देखिएकाले ‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३’ बमोजिम अग्राधिकार प्रदान गर्दै नियमानुसार पेस गर्न पनि आदेश दिएको छ।

नियम ७३ मा कुनै मुद्दा सार्वजनिक महत्वको भए अग्राधिकार दिई मुद्दा पेस गर्न आदेश दिन सक्‍ने उल्लेख छ।

अख्तियारले माधवकुमार नेपाल र बाबुराम भट्टराई छोडेर ४ मन्त्रीसहित १७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ ।