हनुमानढोका, पशुपति, स्वयम्भु, बाैद्ध, बालाजु र शंखपार्कमा फ्री वाइफाइ सेवा ,,
१८ चैत, काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि- वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ ।हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे ।
अब कम्पनीले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने गर्नेछ , यो कार्यमा लाग्ने सबै लगानी वर्ल्ड लिंकले नै गर्नेछ ।यो सेवा सुरु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वाइफाइ अन गरेपछि स्वतः कनेक्ट हुने गरी व्यवस्था मिलाइनेछ ।
वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ ।जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा प्वाइन्ट हुनेछन् ।
प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंखपार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् ।यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी एकाइबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ ।