अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह,
चैत ५ काठमान्डौ – सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो ।
त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईएको छ ।
समितिले सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न भनेको छ ।
यससम्बन्धी सुचना गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ ।
तेस्तै सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न पनि बैठकले आग्रह गरेको छ ।
कोरोना सुरक्षा संवेदनशिलताका लागि भन्दै सरकारले बुधबार युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, वा अन्य मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गतेसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
कोरोन प्रभावित मुलुकहरुदेखि सम्भावित देशहरुले समेत धमाधम आफ्ना बोर्डर तथा पोर्टहरु लक गर्न थालेपछि हवाई उडान प्रभावित हुने देखिएको हो ।
युरोप र ईटालीयन मुलुकमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसँगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो ।
यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।
त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।
तेस्तै गरि होटेल रेष्टुरन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी, बार रेलिङ्ग र शौचालय आदि स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ ।
तेस्तै भोलि देखि सुरु हुन लागेको एसईई परिक्षापनि बैठकले स्थगित गरेको छ । अर्को सुचना जारि नभएसम्म परिक्षा कहिले हुन्छ भन्ने एकिन नहुने समितिको बैठकले बताएको छ ।

