धुर्मुसले बनाउने रंगशाला , तेक्वान्दोदेखि भलिवलसम्मलाई सुविधा ,,

२६ चैत, काठमाडौं – धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ । नाम भने लर्ड बुर्द्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोर्ट्स भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने धुर्मुसले बताएका छन् ।

‘भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुनेछ, उनले भने, ‘साथै आउटडोर खेलहरु पनि समेट्नेछौं । मैदानको उपलब्धताका आधारमा सम्भवतः फुटबल ग्राउन्ड पनि हुनेछ ।क्रिकेटका साथसाथै सबै विधाका खेलकुदलाई सुविधायुक्त रंगशालाको दुख भएकाले यो निर्णय लिइएको धुर्मुस बताउँछन् ।‘सुरुमा क्रिकेट रंगशालाको मात्रै सोच बनाएका थियौं, तर बहुउपयोगी बनाउन सके अरु खेलहरुमा पनि योगदान पुग्न सक्ने भनेर हाम्रो टिममा छलफल भयो,’ उनले भने । बाहिरबाट पनि धेरैले उनलाई बहुउपयोगी रंगशाला निर्माणको लागि सुझाव दिएका थिए ।

धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वषर्ा भइरहने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने उनलाई धेरैले सुझाव दिएका छन् ।

अरु विधाका खेलाडी पनि आकर्षित ,,

धुर्मुसको रंगशाला निर्माण अभियानमा क्रिकेट मात्र नभएर अन्य विधाका खेलाडीहरुलाई पनि आकर्षित गरिरहेको छ । पछिल्लो पटक फुटबलर अनिल गुरुङ र तेक्वान्दो खेलाडी दिपक विष्ट उनको अभियानमा जोडिएका छन् ।दुवैले धुर्मुसलाई भेटेर रंगशाला निर्माणमा आफूहरुको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।धुर्मुसले आफूहरुको अभियानमा जिम्मेवार र विज्ञ व्यक्तिहरु जोडिदै र टिम ठूलो हुँदै गएकाले हौसला बढेको बताए ।