Gold
Bangad salyan

धादिङमा बिजुली सर्ट हुँदा गाउँ नै जल्यो, दुईजनाको मृत्यु

वैशाख ९ ,धादिङ्ग – बिजुली सर्टका कारण धादिङमा गाँउनै आगलागी भएको छ । आगलागीबाट दुई जनाको मृतु भएको छ भने ७ जना गम्भीर घाईते छन् ।

सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले दुईजनाको मृत्यु भएको र ६ र ७ जनालाई उपचारका लागि लगिएको जनाकारी गरिन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीलाई घटनाको बारेमा जानकारी आएको र प्रहरी प्राविधिकहरुलाई पठाउने तयारि भएको बताए ।

ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै परपरका घरहरु समेत जलेका छन् भन्ने आएको छ, हामी प्रहरी र प्राविधिक टोलीलाई पठाउने तयारी गर्दैछौ’ रेग्मीले भने ।

घटना घटेको गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।

घटना गम्भीर छ, ट्रान्समिटर पड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले बताए । घटनाको अनुसन्धान र जिम्मेवारी कसले लिने भनेन छानबिन हुने उनले बताए ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ ।