जेठ १० गते यो बर्षको दोश्रो अवार्ड आयोजना हुँदै,,

वैशाख २७ – नयाँ बर्ष लागेसँगै नेपालमा अवार्डको सिजन सुरु हुन्छ ।अझ, यसलाई सिजनभन्दा पनि ‘खेती’ भनौ ।

गत वर्ष देशका २ चर्चित अवार्ड आयोजना हुन सकेनन् । चलचित्र विकास बोर्डले हरेक बर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गत वर्ष भएन ।

बोर्डका नयाँ अध्यक्ष आएसँगै समय अभावको कारण देखाउँदै बोर्डले अवार्ड आयोजना नगरेको हो । बोर्डले दिने अवार्ड सबैभन्दा विश्वसनिय मानिन्छ ।

यस्तै, विदेशमा हुन थालेपछि झनै चर्चामा रहेको ‘नेफ्टा फिल्म अवार्ड’ पनि गत बर्ष आयोजना भएन ।

अध्यक्ष पदमा पुष्कर लामा विजयी भएर आएपछि उनले पहिलोपटक दुबईमा अवार्ड गरे । तर, दुबई अवार्ड अत्यधिक विवादमा पर्‍यो । यसपछि, नेफ्टा जस्तो प्रतिष्ठित अवार्ड आयोजनै हुन सकेन ।

पुष्करले आफ्नो जन्मदिनमा अवार्ड गर्ने भनेर घोषणा गरेपनि त्यो घोषणा त्यसै हरायो । यो बर्ष नेफ्टाले अवार्ड आयोजना गर्छ या गर्दैन हेर्न बाँकी छ ।

चलचित्र कलाकार संघमा अध्यक्ष रामकेशर बोगटी आएसँगै अवार्डको सुरुवात गरे । संघको अध्यक्ष पदका लागि निर्वाचन लड्दै गर्दा संघका लागि आफ्नै भवन बनाउने घोषणा गरेका उनले त्यो काममा त माखो मार्न सकेका छैनन् ।

तर, हरेक बर्ष कनिकुथि अवार्ड आयोजना गरेर लाज ढाक्दै आएका छन् । तर, विडम्बना गत बर्ष उनले अवार्ड आयोजना गरे, चैत्रको अन्तिम समयमा आएर ।

यो बर्ष भने सुरुवातमै अवार्ड आयोजना गरेर केही अवार्ड आयोजकहरु चर्चा पाउने दौडमा लागेका छन् । जति ढिलो अवार्ड हुन्छ त्यती नै अवार्डप्रतिको चार्म घटेर जाने भएकाले धेरै आयोजक यो बर्षको सुरुवातमै अवार्ड आयोजना गर्ने धुनमा छन् ।

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ वैशाखको सुरुमै आयोजना भयो । तर, बैशाखको झरीमा हायात होटलको बाहिरी परिसरमा आयोजित अवार्ड समारोह पानीले लथालिङ्ग बनाइदियो ।

अन्तत, अवार्ड एउटा कुनामा गएर बाँडियो र सकियो । यो अवार्डको गरिमामा झनै धक्का लाग्यो । कतिपयले त अवार्ड आयोजना भएको पनि थाहा पाएनन् ।

अब, जेठ १० गते यो बर्षको दोश्रो अवार्ड आयोजना हुँदैछ । २ बर्ष मोफसलमा आयोजना गरिएको ‘दशौ डी सिने अवार्ड’ यस वर्ष काठमाडौमा आयोजना हुँदैछ ।

तर, अवार्डको २९ विधाका लागि नोमिनेसन सार्वजनिक भएसँगै आलोचना सुरु भएको छ । यो अवार्डको नोमिनेशन सार्वजनिक भएलगत्तै निर्देशक निश्चल बस्नेतले लेखे-‘अवार्डको नोमिनेशन ।

आर यू कमेडी मी ?’ उनले आफ्नो ब्यङ्ग्य कतातर्फ हानेका हुन् भन्ने वुझ्न गाह्रो पर्दैन ।

अवार्डको नोमिनेशनमा ‘उत्कृष्ट चलचित्र’ र ‘उत्कृष्ट पपुलर चलचित्र’ बनेर छुट्याइएको छ । ‘छक्का पन्जा २’ बाहेक यी २ विधामा सबै चलचित्र फरक-फरक छन् । अब, कुन विधामा अवार्ड पाउनेले गर्वका साथ छात्ती फूलाउने हुन् प्रतिक्षा गरौ ।

यति मात्र होइन, जुरी अवार्ड र क्रिटिक्स अवार्डका नाममा थप दुई चलचित्र पुरस्कृत गरिनेछन् । यसको अर्थ बढिभन्दा बढि निर्मातालाई खुशी बनाउनु हो भनेर बुझ्न गाह्रो छैन ।

यो वर्ष अझै पनि केही अवार्ड आयोजना हुँदैछन् । तर, अवार्डमा कलाकारको उपस्थिति यति फितलो हुन थालेको छ कि, आयोजकलाई तपाइले अवार्ड पाउँदै हुनुहुन्छ आइदिनुहोला भनेर बोलाउनु पर्ने अवस्था छ ।

खगेन्द्र लामिछाने, दीपकराज गिरी लगायतले त अवार्डमै नजाने बताइसकेका छन् ।

अवार्डमा पुग्ने कलाकारको बडी ल्याङ्ग्वेज हेरेरै कसले अवार्ड पाउँदैछ भन्ने गेस गर्न सकिन्छ । यस्तो अवस्थामा नेपाली चलचित्रको विकास र प्रोत्साहनका लागि भन्दै बर्षमा दर्जन बढी अवार्ड आयोजना हुनुको तुक के छ ?

अवार्ड पाउँदा गर्भको महसुुस हुनपर्छ । नपाउनेलाई पनि अर्को बर्ष मिहिनेत गर्ने जोश पलाउनुपर्छ ।

तर, कतिपय अवार्ड त पाउँदा भन्दा नपाउँदा खुशी हुनुपर्ने अवस्थाका छन् । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले भनेजस्तै, आखिर किन हाम्रा अवार्ड कार्यक्रमहरु हाँस्न सकेका छैनन् ?