ओलीको शासनमा बिचौलिया र गुण्डाराज उत्साहित छन् :नेपाल
जेठ ११ ,काठमान्डौ – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रकारीहरुको उक्साहटमा जनअपेक्षा विपरीत नेकपा विभाजन गरेको आरोप लगाएका छन् ।
आज फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै नेता नेपालले ओलीले एमालेलाई तहस–नहस गर्ने अभियान आफूहरुलाई कथित कारबाही र निष्कासनमा आएर पूरा भएको जिकिर पनि गरेका छन् ।
ओलीले आफ्नो शासनमा रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् रहेको पनि बताए ।
कार्यकर्ताका नाममा अपिल जारी गर्दै नेपालले नागरिकबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने तथा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिङ्गो कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई उभ्याएको आरोप लगाएका हुन्।
आफुले पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेपनि ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याएर छोडेको नेपालले बताए।
ओली सत्ता, शक्ति र माफियाको जगमा उभिएकोले आफूहरुका सुझावलाई कहिले मनन नगरेको र प्रतिशोध साँध्ने काम गर्दा आज नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढेको पनि नेपालले बताए।