उत्तर कोरियाबाट अमेरिकालार्इ अझै खतरा ,,
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन् ।मंगलबार देशवासीका नाममा ‘स्टेट अफ दि युनियन’लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले भने, ‘उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढंगले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ । यसले अमेरिकाको कुनै भूभागलाई लक्ष्य बनाउन पनि सक्छ।’
अमेरिका र विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्न निकै ठूलो प्रयत्न गरिरहेको पनि उनले बताए । उनले सम्बोधनका क्रममा भने, ‘ हामीले सम्भावित त्रास हटाउन र सम्भवतः यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन । यो उसको मुर्खता मात्र हो।’
उत्तर कोरियाको सन्कीपन अमेरिकी शहरका निम्ति खतरा हुन सक्ने चेतावनी दिएका छन् । विगतका अमेरिकी सरकारले गरेजस्तो गल्ती आफूले नगर्ने उनले स्पष्ट पारे । अमेरिकामाथि त्रास हुँदाहुँदै पनि विगतमा अमेरिकी प्रशासन आँखा चिम्लिएको भन्दै उनले आलोचना गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले गरेजस्तो बर्बरता कुनै पनि सरकारले नगर्ने उनको भनाइ थियो । आणविक कार्यक्रम रोक्न उत्तर कोरियामाथि थप कदम उठाइने पनि उनले खुलासा गरे । उनले भने, ‘परमाणु क्षेप्यास्त्रमा उत्तर कोरियाको अभियान अमेरिकाका निम्ति खतरा हुनेछ । यसैले उसमाथि अत्यधिक दबाब बनाउनु पर्छ ।’ उत्तर कोरियाली पीडित नागरिकको उदाहरण दिँदै उत्तर कोरिया क्रूर भएको उनले चर्चा गरे ।
राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा रूस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाए । उनले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको पनि खुलासा गरे । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन अनेक प्रयास जारी राखेको खुलासा पनि उनले गरे । उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि वातावरणमा केही सहजता आए पनि उत्तर कोरिया वार्ताका लागि पूरै तयार भने भई नसकेको पनि उनले बताए ।
यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलोपटक मन्त्रीस्तरीय वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालाई दुई कोरियाको सम्बन्ध सुधारका रूपमा हेरिएको छ । यो वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको जनाएको थियो । टम्पले उक्त वार्ताको स्वागत गरेका थिए । उनले उत्तर कोरियासँग वार्तामा बस्न अमेरिका तयार रहेको त्यसै बेला जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने धारणा पनि त्यसै समयमा सार्वजनिक गरेका थिए । उनले दुई कोरियाली वार्ताका कारण पछिल्लो समयमा विकसित परिस्थितिबाटै अघि बढ्न र कोरियाली प्रायद्वीपमा तनाव कम गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गरेका थिए ।
फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरू बसिरहेका छन् ।
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) विद्रोहीविरुद्ध लडाइँ जारी राख्ने घोषणा गरेका छन् । ट्रम्पले भने, ‘गर्नुपर्ने काम अझै धेरै छन्, आइएसलाई पूर्ण रूपमा पराजित नगर्दासम्म हामीले आक्रमण जारी राख्नेछौं । उनीहरूलाई हामीले आवश्यक परेको स्थानमा खोज्नेछौँ, लखेट्नेछौँ र हराएरै छोड्नेछौँ ।’
साभार अन्न्पुर्नपोस्ट