भारतको नेपाललाई दुई हजारका नोट चलनमा ल्याईदिन आग्रह नेपालको यस्तो जवाफ
काठमाण्डाै – भारतले नेपाललाई भारतीय दुई हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले दुई हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भारतबाट नेपाल आउने पर्यटकले रु १ सयका नोट बोकेर आउँदा निकै झण्झट र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परिरहेको भन्दै दुई हजार रुपैयाँका नोट चलाइदिन भारतले आग्रह गरिरहेको छ।
तर नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकका अनुसार यहाँ रहेका पुराना एक हजार र पाँच सय दरका नोट सटही नगरेसम्म दुई हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको छ ।
नेपालमा बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाइ छ ।
व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी भने छैन। बैंकहरुसँग भने अहिले सात करोड रुपैयाँ बराबरका नोट छन। यी नोट साट्न नेपालले पटक पटक आग्रह गरेपनी भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।
भारतले कालो धन नियन्त्रणको लागि भन्दै २०७३ सालमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएर दुई हजार दरका नोट निष्कासन गरेको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ ।