रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं – पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार बयानपछि थुनछेक बहस नभएपछि उनलाई हिरासतमा पठाइएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएपछि लामिछानेलाई हिरासतमा पठाइएको हो ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । लामिछाने आइतबार(आज) अदालतमा उपस्थित भएका थिए ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

यसअघि लामिछानेलाई गत बिहीबार कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी अभियोगमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुष २८