राहत वितरणमा विपन्न वर्गलाई नदिएको भन्दै ढुंगा प्रहार दुई जना घाईते ,
वैशाख ५ ,काठमान्डौ – पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षले ढुंगा प्रहार गरेको छ ।
गाउँपालिकाको वडा नं ३ को झलमैया टोलमा विपन्नलाई राहत नदिएको भन्दै ढुंगा प्रहार भएको हो। ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।
झलमैयामा एक सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।
पाँच वटा वडामा सर्वदलीय समितिबाट नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी रहेको पनि उनले बताए ।
खानै नपाउने अवस्था भएको भए आएर भन्न पर्ने हो लुकेर ढुंगा हान्ने कार्य निन्दनीय छ ,विपन्न वर्गका नभई कसैले राहत वितरण कार्यक्रम विथोल्ने तरिकाले ढुंगा हानेको हुनसक्ने पनि गुप्ताले बताए ।
गाँउपालिकाले राहत वितरण गरेकोबेलामा असन्तुस्ट पक्षले ढुंगा हानेको झडप भने नभएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।
अति विपन्न र विपन्न परिवारका कोही राहत वितरणमा छुटेको भए नाम पेश गर्न आग्रह गरेपछि स्थिति बिग्रन नपाएको उनी बताउँछन् । घाईते दुवैको उपचारका लागि वीरगञ्ज पठाइएको पनि उनले बताए ।

