नाकामा थप फौज परिचालन गर्न गृहको तयारि ,
वैशाख २१ काठमान्डौ – सरकारले विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने बताएको छ ।
आइतबार गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ ।
बैठकमा गृहमन्त्री बादलले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।
उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।
थापाले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायतको उपस्थिति थियो ।
गृहको यो निर्णयसँगै देशभरका कारागार,विभिन्न राजदूतावास,नेपालस्ठित अन्य कूटनीतिक नियोग,विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइने भएको छ ।

