महेश बस्नेत र सर्वेन्द्र खनाल विरुद्द सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता ,
वैशाख २२ काठमान्डौ – समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जाहेरी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध यादवले सोमबार बबरमहलस्थित कार्यालयमा जाहेरी दिएका हुन्।जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।
समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिएका हुन् ।
जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।
नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ।
सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका थिए।
अहिले यो बिषयले निकै चर्चा पाएको छ । महेश बस्नेत र सर्वेन्द्र खनाल विभिन्न मिडियामा आफुहरुलाई आरोप लगाईएको भन्दै प्रतिक्रिया दिन थालेका छन् भने सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको आरोप लगाएका छन् ।

