लकडाउनलाई क्रमस खुकुलो पार्न सरकारलाई निर्देशन ,
वैशाख २९ ,काठमान्डौ – संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपनि आग्रह गरेको छ ।
आईसोलेसनका बेडहरु पर्याप्त उपलब्ध निर्माण गर्नुपर्ने किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पुर्याउने सहज बनाउन पनि समितिले निर्देशन दिएको छ ।
समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।
तेस्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरीएको बताएका छन् ।उनले पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि बढाइएको बताए ।
विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

