कोरोना रोकथाममा सरकारको खर्च ८ अर्ब ३९ करोड,
जेठ ३१ ,काठमान्डौ – कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक भएसंगै काठमान्डौ सहित विभिन्न जिल्लामा प्रदर्शन भएको छ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।
१० अर्ब खर्च भएको विरोध भईरहेकोबेला तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।
संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।
संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।
शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘
अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।



