सेनापतिको आदेश नमान्दा दुई जना सैनिक अधिकारी बर्खास्त ,
असार १८ ,काठमान्डौ – सेनापतिको आदेश नमान्दा दुई जना उच्च सैनिक अधिकारी बर्खास्त हुनुपरेको छ ।
माथिल्लो तहबाट भएका आदेश पालना नगरेको, र सैनिक अनुशासन उल्लंघन गरेको तथा पदीय ओहोदा अनुसार जिम्मेवारी निर्वाह नगरेको कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्का दोषी ठहर भई बर्खास्तमा परेका हुन् ।
सहायक रथी सुरेन्द्रसिंह रावल सैनिक मुख्यालयमा कार्यरत छन् भने महासेनानी अनिल खड्का पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएको आदेश उल्लंघन गरेको कसुरमा उनीहरुलाई बर्खास्त गरिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जानकारी गरेको छ ।
उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस गरिएको निर्देशनालयले जनाएको छ ।दुवै जना बढुवाको लाइनमा थिए ।
माथिल्लो कमान्डरले लिखित रूपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीत काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी र आचरण नदेखाएको कसुरमा दुवै अधिकारीलाई सैनिक अदालतबाट दोषी ठहर गर्दै बर्खास्त गरिएको हो सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

