काठमाडौं उपत्यकाबाट १८ पेट्रोल पम्प हटाइँदै,खास कारण यस्तो पो रहेछ
काठमाडौं-ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले। प्रहरी र दमकल छिटो पुगेका कारण क्षति कम भयो। घर, बिजुलीका तार र वर्कसप पम्पमा जोडिएका कारणले ठूलो क्षति हुने अनुमान गरे पनि समयमै दमकल पुग्दा ठूलो क्षति हुन पाएन। ग्वार्कोको उज्ज्वल पेट्रोल पम्प मात्रै होइन, उपत्यकाका १८ वटा पेट्रोल पम्प अति जोखिमपूर्ण ठाउँमा छन्।
मानव बस्ती र पम्पबीचको दूरी नजिक हुँदा जोखिम बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले घना बस्तीका बीचमा रहेका पेट्रोलियम पदार्थजन्य पम्प र सवारीले जोखिम बढाएको बताए। उनले सानो कमजोरीबाट ठूलो क्षति हुने हुँदा पूर्वसावधानी अपनाउनु नै बेस हुने जानकारी दिए। ‘ललितपुर क्षेत्रमा बनेका पम्पहरू पनि उत्तिकै जोखिम छन्, अति प्रज्वलनशील पदार्थ भएकाले घर र पम्पको दूरी केही पर हुनुपर्छ, नत्र ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्यता हुन सक्छ।’ उनले पम्पहरूलाई व्यवस्थित गर्न सरकारले उचित मापदण्ड बनाएर व्यवस्थि र सुरक्षित गराउनुपर्ने बताए।
जोखिममा रहेका १८ वटा पम्प सार्न नेपाल आयल निगमले पम्प सञ्चालकलाई दुईपटक परिपत्र गरिसकेको छ तर अझै सारिएको छैन। एक वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि उपत्यकाका १८ स्थानका पेट्रोलपम्प हटाउन निगमलाई पत्राचार गरेको थियो। निगमले दुईपटकसम्म पत्राचार गर्दा पनि करोडौं लगानी डुब्ने भन्दै व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन्। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अति जोखिमयुक्त पम्प हटाउन लिखित र मौलिक निर्देशन दिइसकिएको दाबी गरे।
उनले निगमले यो वर्ष वार्षिक नीति तथा कार्यक्रममै १८ वटा पम्पलाई अन्यन्त्रै सार्ने योजना बनाएकाले असारसम्म ती पम्प सारिसकिने बताए। उनले भने, ‘अति नै जोखिम अवस्थालाई ध्यानमा राखेर हामीले १८ वटा पम्पलाई अन्तै सार्न भनिसकेका छौं तर जग्गा र भनेजस्तो ठाउँ नपाएको भन्दै सञ्चालकहरूले अटेर गर्दै आइरहेका छन्।’ उनका अनुसार बज्रबाराही पम्प ९चापागाउँ०, टीकाभैरव आयल स्टोर ९चापागाउँ०, कोतधुकु आयल स्टोर ९बालाजु०, मायाराम भोलारा आयल स्टोर ९थापाथली०, श्यामा आयल स्टोर ९कलंकी०, भ्याली रिकेट आयल स्टोर ९गैरीगाउँ० अति जोखिम अवस्थामा छन्।
त्यस्तै जुबी आयल स्टोर ९बौद्ध०, साझा पेट्रोल पम्प ९जावलाखेल०, गायत्री आयल स्टोर ९जावालाखेल०, बालकुमारी पेटोल पम्प ९चापागाउँ०, कनक आयल स्टोर ९कालिमाटी०, जयन्ती आयल ९थापाथली०, बाबा आयल स्टोर ९कलंकी०, त्रिशूल आयल स्टोर ९कलंकी०, कामाख्या आयल स्टोर ९कोटेश्वर०, बराल आयल स्टोर ९बौद्ध०, एचबी इन्टरनेसनल ९जावालाखेल० र सीता आयल स्टोर ९महाराजगन्ज० जोखिममा छन्। यी पम्पका कारण ट्राफिक व्यवस्थापमा समस्या हुने गरेको छ। त्यसबाहेक घरबस्तीलाई जोखिम थपेको, बिजुलीका तार जोडिएको, वर्कसपनजिकै रहेकाले अन्यन्त्रै सार्न निर्देशन दिइएको हो। त्यसो त यी पम्पहरूको पुरानो मापदण्डअनुसारको कानुनी प्रक्रिया भने सही छ।

