Gold
Bangad salyan

भट्टराईको उद्धार,बिराटनगरमा उपचार हुदैँ

माघ ३० , काठमाडौं- ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो। लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए। हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन्।

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँगाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ। समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यचौकीमा आवश्यक उपकरण जोड्दै गएको हो। गत सातादेखि फक्ताङलुङ–५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नका लागि भिडियो एक्सरे सेवा शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए। मान्छेको संवेदनशील अङ्ग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको उनले जानकारी दिए। जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपापलिकामै दिन लागेको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए।

विगतका दिनमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालको प्रयोग गर्न सदरमुकामसम्म पुग्नुपथ्र्यो। गाउँपालिकाले एक चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिइरहेको प्रवक्ता लामाले बताए। आफ्नै गाउँमा भिडियो एक्सेर, इसिजी र प्रयोगशाला सेवा लिन पाउने भएपछि खुशी भएको स्थानीयवासी पूर्णकुमारी लिम्बूले बताए । फक्ताङलुङ गाउँपालिकाको जनसङ्ख्या १४ हजार ८८४ रहेको छ। सातवटा स्वास्थ्यचौकी र आठ सामुदायिक स्वास्थ्य एकाइबाट गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए। रासस