मेलम्ची खानेपानीको सुरुङ आज परीक्षण गरिँदै,
फागुन १० ,काठमान्डौ – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज परीक्षण गर्ने भएको छ ।मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गरिने जानकारी गरेको छ ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
‘विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो,’ आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने ।
विगतका दिनजस्तै कुनै दुर्घटना नहोस भनि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्री बताउछन। परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।
उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने आयोजनाले बताएको छ ।

