चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय ,
चैत ७ ,काठमान्डौ – सत्तारुढ नेकपा (एमाले) ओली समूहको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय वालुवाटार बैठक श्रोतले जनाएको हो।
नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बालुवाटार बैठकको ठहर छ ।आजै संसदीय दलको विधान संशोधनको सिफारिस संसदीय दलको बैठकबाट पारित गरिएको थियो ।
विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध गतिविधि कुनै सदस्यले गरेको दलको नेतालाई लागेमा स्पष्टीकरण सोध्नसक्ने अधिकार दिइएको थियो । उक्त व्यवस्थासहितको विधान शनिबार नै केन्द्रीय कमिटीबाट पनि पारित भएको थियो ।
सोही विधानअनुसार चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय लिइएको हो ।भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ती नेताहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने बताएका थिए ।

