Gold
Bangad salyan

ओली सरकारले जाँदा -जाँदै सार्वजनिक गाडीमा २८ प्रतिशत भाडा बढायो

असार ३० काठमान्डौ – केपी ओली सरकारले जाँदा जाँदै लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।

भाडादर वृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।

नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ ।पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ। यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ।