राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान
काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो।
आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। राष्ट्रिय सभा सदस्य चुनावमा सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् । आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।
त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस) बाट लागू हुने आयोगले जनाएको छ ।



