वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गर्ने तिन जना पक्राउ
काठमान्डौ – वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे रहेको प्रहरीले जनाएको छ ।
गत ८ असोज २०७८ मा दुबईबाट नेपाल आएका सिरहाका ३० वर्षीय रामेश्वकर रामलाई बन्धक बनाएर मोबाईल झोला रकम लुटेको भन्ने उजुरी परेको थियो महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने।
‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएर कुटपिट गरेर ज्यान मार्ने धम्की दिँदै झोला र मोबाइल समेत लगेको भनी उजुरी परेको थिय।
विभिन्न विधिबाट अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्नहरु पक्राउ परेका हुन् ।’ बन्धक बनाउनुको कारणबारे स्पष्ट भइनसकेको र अनुसन्धान भईरहेको मैनालीले बताए।
पक्राउ परेका तिनै जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको मैनालीले बताए ।

