Gold
Bangad salyan

काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली

काठमान्डौ – काठमाडौं उपत्यकामा आज देखि सवारीसाधनमा जोर बिजोर सञ्चालन हुने भएको छ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको जानकारी दिएको हो।

उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि उपत्यकामा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको हो। सार्वजनिक यातायातसहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ।

औषधि एवम् स्वास्थ्य सामाग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल र शववाहनमा जोर बिजोर लागू नहुने प्रशाशनले जनाएको छ। यस्तै, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने साधनमा समेत जोर बिजोर लागू हुनेछैन। यद्यपि, यी सवारी साधनमा भने चालक र सहचालक मात्र बस्न पाउने प्रशासनले जनाएको छ।

यस्तै, खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारीमा पनि यो प्रणाली लागू हुनेछैन। यी समाग्री बोक्ने गाडीमा पनि चालक र सहचालक मात्र बस्न पाउने छन्।

यता, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउनेछन्। यस्तै, बैंक, बीमा, वित्तिय संस्था र वायुसेवा निगमका कर्मचारीले पनि परिचय पत्र देखाएर सवारी चलाउन पाउनेछन्।

पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउनेछन्। त्यसैगरी सरकारी सरकारी र कुटनीतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर लागू नहुने प्रशाशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।