Gold
Bangad salyan

खोटाङमा एक शिक्षकमाथि मोहन वैद्य नेतृत्वको कार्यकर्ताले गरे दुर्व्यवहार 

फागुन २६,खोटाङ – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा एक शिक्षकमाथि दुर्व्यवहार गरेको छ ।

बुधवार खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहामा रहेको पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिक स्थलमा मोसो दल्दै जुत्ताको माला लगाएर क्रान्तिकारीले कारबाहि गरेको हो ।

लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, रक्सी खाएर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने ,गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले ती शिक्षकमा जनकारबाहि गरेको बताएको छ।

शिक्षकलाई सुध्रनका लागि पटक–पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरिएकाले आफ्नो तर्फबाट कारबाही गरिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए।

अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङ भञ्ज्याङमा रहेको कोठाबाट बाहिर निकालेर सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको थियो ।

शिक्षकमाथि दुर्व्यवहार भएको विषयमा जानकारी आएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउँछन। विगत आठ वर्षदेखि प्रअको भूमिकामा रहेका शिक्षक राईलाई केही महिनाअघि मात्र प्रअबाट हटाइएको थियो।