Gold
Bangad salyan

पेट्रोलियम व्यवसायीहरूको आन्दोलन फिर्ता

काठमान्डौ – पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएर भोलि देखिनै पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु गर्ने जनाएका छन।

नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको चरमबद्द देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लका अनुसार आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको हो।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

उनिहरुले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।

निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि देशभरका पेट्रोल पम्पहरूमा लाइन सुरु भएको थियो भने देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति समेतम समस्या देखीएको थियो।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले आज शनिबार अबेर सम्पन्न व्यवसायीहरूसँगको वार्ताबाट निकास निस्केको बताए।
उनले व्यवसायी र निगम निरन्तर छलफलमा बसेर आवश्यक निष्कर्ष निकाल्ने सहमति भएको बताए ।अबको एक साता भित्र व्यवसायीका केही बुँदामा निष्कर्ष निकालिने र बाँकी केही बुँदामा जेठ १५ गते भित्र निष्कर्ष निकाल्ने सहमति बनेको उनले बताए ।