राष्ट्रपति भण्डारी सुर्खेतको कांक्रेविहार जंगलमा
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले मंगलबार अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखेकी छिन। त्यस्तै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा समेत राखेकी थिइन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताइन् ।
अवलोकनपश्चात् राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरिन् । राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।
सुर्खेत पुगेकी राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले बताए। भण्डारी आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्ने कार्यक्रम रहेको छ।

